ग्रेडिएन्ट क्यानोपीको वरपर उत्कृष्ट वातावरण कायम राख्नका निम्ति हामीले अवलम्बन गरेको मुख्य रणनीति भनेको कटुसका बिरुवाहरू लगाउनु हो। क्यालिफोर्नियामा जताजतै पाइने कटुसका रुखहरूले विगतमा सिलिकन भ्याली नै ढाक्ने गर्थे। स्थानीय प्रजातिका कटुसका रुखहरू खडेरी पर्ने ठाउँमा पनि सजिलै फस्टाउँछन्। सजिलै आगो नलाग्ने यी रुखहरूले प्रभावकारी तरिकाले प्रदूषण हटाउँछन् भने वायुमण्डलमा रहेको कार्बन सोसिदिन्छन्। साथै क्यालिफोर्नियाको कटुसको जङ्गलमा थप २,००० प्रजातिका बोटबिरुवा र झन्डै ५,००० प्रजातिका किराहरू पाइने भएकाले यो क्यालिफोर्नियाकै सबैभन्दा बढी जैविक विविधतायुक्त पर्यावरणमध्ये पर्छ। साथै सयौँ प्रजातिका चराचुरुङ्गी, स्तनधारी जीव र अन्य जङ्गली जनावरहरू कटुसको जङ्गलमा पाइने पर्याप्त खाना, छहारी र आश्रयमा निर्भर रहन्छन्।
हामीले स्थानीय वैज्ञानिकसँग मिलेर हाम्रो भवन नजिकै कटुसका साथै बकाए, सिकेमोर र विलो जस्ता स्थानीय प्रजातिका बोटबिरुवाले ढाकिएको छहारी स्थल बनाएका छौँ। रुखको छाया पर्ने यस्तो मानव निर्मित कोरिडोरमा जङ्गली जनावरहरू आरामदायी तरिकाले बसोबास गर्न सक्छन् भने यसले गर्दा सहरीकरणका कारण उत्पन्न हुने गर्मी पनि कम हुन्छ।
पोलिनेटरको वासस्थानका लागि आवश्यक पर्ने स्थानीय प्रजातिका बोटबिरुवाहरू लगाउनाले ग्रेडिएन्ट क्यानोपीमा भएका स्थानीय प्रजातिका बोटबिरुवाहरू फस्टाउँछन् भने स्थानीय प्रजातिका पुतली, चरा र मौरीहरूले पनि अनुकूल वातावरण र स्रोतसाधनहरू प्राप्त गर्छन्। भूदृश्यको एउटा हिस्सा विशेष गरी पश्चिमी मोनार्क प्रजातिको पुतलीको सङ्ख्या बढ्ने गरी डिजाइन गरिएको छ। हामीले उपलब्ध उत्कृष्ट वैज्ञानिक तरिका अपनाएर सही परिमाणमा मिल्कविडका बिरुवाहरू लगाएका छौँ। यी बिरुवाले मोनार्क प्रजातिको पुतलीका अण्डा तथा झुसिल्किराहरू तयार पार्न सघाउँछन् र पुतलीहरूलाई बसाइँ सर्दा तय गर्नु पर्ने लामो उडानका लागि खानाका रूपमा ऊर्जा प्रदान गर्छन्।
समुदायलाई स्थानीय रूपमा फलाइने ताजा खानेकुरासँग जोड्ने उद्देश्यले Living Building Challenge कार्यक्रमअन्तर्गत प्रदान गरिने Urban Agriculture Imperative प्रमाणपत्र प्राप्त गर्नका निम्ति हामीले ग्रेडिएन्ट क्यानोपीको वरपर पोलिनेटरको वासस्थानका लागि आवश्यक पर्ने स्थानीय प्रजातिका बोटबिरुवाहरू रोपेका छौँ, सागसब्जी तथा फलफूल लगाएका छौँ र माहुरी बस्ने घरहरू बनाएका छौँ। यहाँ रहेका दुई वटा बगैँचा बारीमा हाम्रा क्याफे र Google का कर्मचारीका कुकिङ क्लासका लागि चाहिने खाद्यान्न उत्पादन हुन्छ र यसबाट स्थानीय प्रजातिका बोटबिरुवा लगाएर बगैँचा बारी बनाउँदा स्थानीय खाद्यान्न उत्पादन गर्न कत्तिको मद्दत पुग्छ भन्ने कुरा थाहा हुन्छ।