अझ सफा र स्वस्थ भविष्यको बाटो हामीले हरेक दिन गर्ने ससाना निर्णयहरूबाट सुरु हुन्छ। त्यसैले हामी निरन्तर रूपमा वातावरणमा सकारात्मक प्रभाव पार्ने र ऊर्जा, पानी र अन्य प्राकृतिक स्रोतहरूको प्रयोग गर्दा अझ बढी जिम्मेवार बन्ने तरिकाहरू खोजिरहेका छौँ। यसकारण हामीले ग्रेडिएन्ट क्यानोपीमा वृत्ताकार डिजाइनका सिद्धान्तहरूलाई ध्यानमा राखेर भवन निर्माण गर्ने निर्णय गर्यौँ। यसले सीमित प्राकृतिक स्रोतहरूको माग घटाउन सघाउँछ। वृत्ताकार डिजाइनले प्रयोग गरिएका सामग्री सकेसम्म बढी टिकाउने लक्ष्य राख्छ। त्यसकारण हामीले यस भवनमा पुनः प्रयोगमा ल्याइएका सामग्रीहरू सकेसम्म बढी प्रयोग गरेका छौँ।
ग्रेडिएन्ट क्यानोपी निर्माण गर्ने क्रममा हामीले पुनः प्रयोगमा ल्याइएका सामग्रीबाट बनाइएका ३० वटाभन्दा बढी सामानहरू राखेका छौँ। यी सामानहरूमा पुनः काममा ल्याइएका काठ, बाइक र्याक, लकर, गलैँचा र टाइल आदि समावेश छन्। यी सामानहरू पुनः प्रयोगमा नल्याइएका भए यिनीहरू ल्यान्डफिल साइटमा जान्थे। पुनः प्रयोगमा ल्याइएका सामग्री यति ठुलो परिमाणमा प्रयोग गरिएको हुनाले यस भवनले International Living Future Institute (ILFI) ले सञ्चालन गरेको Living Building Challenge (LBC) कार्यक्रमअन्तर्गत प्रदान गरिने मटरियल्स पेटल प्रमाणपत्र प्राप्त गर्न सक्यो। यस कार्यक्रमले मानिस तथा अन्य जीवजन्तुको स्वास्थ्यमा प्रतिकूल असर नपुर्याउने र पुनः प्रयोग गर्न सकिने खालका सामग्रीको पारदर्शी अर्थतन्त्र निर्माण गर्ने लक्ष्य राख्छ।
भवनको आकार ठुलो भएका कारण पुनः प्रयोगमा ल्याउन सकिने सामग्री ठुलो परिमाणमा प्राप्त गर्न हामीले विभिन्न रणनीति बनाउनु पर्यो। उदाहरणका लागि, पुनः प्रयोगमा ल्याउन सकिने टाइल वा कार्पेट जस्ता सामग्री प्राप्त गर्ने कार्य सजिलो थिएन किनभने भवनको डिजाइनअनुसार ती सामग्री ठुलो परिमाणमा चाहिन्थे र तिनको आकार, रङ र तिनमा प्रयोग गरिएको सामग्री पूर्ण रूपमा एकै खालको हुनु पर्थ्यो।
यस कार्यमा हामीले Google को गोदाम रहेका हाम्रै स्टकबाट सामग्रीहरू पुनः प्रयोग गर्ने मुख्य रणनीति अपनायौँ। यसको अर्थ हामीले हाम्रै बुइँगलमा रहेको स्टकलगायत अगाडिका परियोजनामा बढी भएर प्रयोगमा नआएका नयाँ सामग्री र भवनहरू भत्काउनुअघि तिनीहरूबाट हटाइएका सामग्रीमा ध्यान केन्द्रित गर्यौँ। हामीसँग के कस्ता सामग्री छँदैछन् भनेर हेर्दा हामीले पुनः प्रयोगमा ल्याउन सकिने कार्पेट, टाइल, बाइक र्याक, सेरामिक टाइल र अकुस्टिक सिलिङ टाइलहरू जुटाउन सफल भयौँ।
हामीले सामग्रीहरू पुनः प्रयोगमा ल्याउने अर्को तरिका भनेको विभिन्न स्थानीय स्रोतहरूबाट पुनः प्राप्त गरिएको काठ प्रयोग गर्नु थियो। उदाहरणका लागि, हामीले यो भवनभरि राखिएका बेन्चहरू भवन निर्माणका क्रममा प्रयोग भएको काठ प्रयोग गरेरै बनाएका हौँ। हामीले स्थानीय विक्रेताहरूबाट पनि भवन निर्माणका क्रममा प्रयोग भएका काठ मगाएका थियौँ र उक्त काठ बाइक राख्ने क्षेत्रहरूमा भित्ता सजाउन र Google स्टोरका भुइँ सजाउन प्रयोग गरेका छौँ।