हामी काम गर्न मिल्ने र स्वस्थ र आश्चर्य र खुसीका क्षणहरू पनि सिर्जना गर्ने कार्यस्थानहरू बनाउन प्रयास गर्छौँ। यो अमूर्त तेस्रो आयाम हो। यसले हामीलाई हाम्रो साझा मानवताका बारेमा याद दिलाएर काममा व्यस्त भएको, ऊर्जाले भरिएको र सहज महसुस गर्न सघाउँछन्। कला यो मानवीय पक्षसँग जोडिने आकर्षक तरिका हो र २०१० देखि हामीले Google मा आन्तरिक GoogleArts कार्यक्रम, हाम्रो Google कला तथा संस्कृति अभियान र हाम्रो वासस्थानमा कलाकार कार्यक्रमलगायतका कलासँग सम्बन्धित विभिन्न कार्यक्रमहरू स्थापना गरेका छौँ।
Google Visitor Experience (Google को नयाँ कार्यालय ग्रेडिएन्ट क्यानोपीमा अवस्थित) मा सञ्चालित एउटा कलासम्बन्धी समर्पित सार्वजनिक कार्यक्रमले यस किसिमको सोचलाई हाम्रो माउन्टेन भ्यूको फराकिलो समुदायमा विस्तार गरेको छ। भवनबाहिरका सार्वजनिक प्लाजा र बाटोहरूभरि छ वटा सार्वजनिक कलाकृतिहरू छरिएका छन्। तिनले Google Visitor Experience लाई जीवन्त र सबैका लागि आकर्षक ठाउँ बनाउन सघाएका छन्।
नजिकैदेखि लिएर टाढाबाट आएका कलाकारहरूले बनाएका हरेक कलाकृति ती कलाकृति रहेका स्थानअनुसार विशेष रूपमा डिजाइन गरिएका छन्। तिनले भवन वरपर भेला हुने ठाउँ स्थापित गर्न सघाएका छन् र खेल्ने तथा रमाइला अनुभव लिन सकिने अवसरहरू सिर्जना गरेका छन्। त्यसका साथै यी कलाकृतिहरूले ग्रेडिएन्ट क्यानोपीमा कडाइका साथ पालना गरिएका दिगोपन तथा स्वस्थ सामग्रीसम्बन्धी लक्ष्यहरूलाई निरन्तरता दिएका छन्। किनकी हरेक कलाकृति रातो सूचीमा समावेश नभएका सामग्री प्रयोग गरी बनाइएका छन् (यसको अर्थ तिनमा मानवीय र वातावरणीय स्वास्थ्यका लागि बढी हानि गर्ने पदार्थहरू प्रयोग गरिएको छैन) र तिनले फोहोर हुन नदिने प्रयासलाई सहयोग पुर्याएका छन्। भवनभित्र र बाहिर प्रयोग गरिएका सामग्रीहरूले जस्तै गरी ती कलाकृतिहरूले ग्रेडिएन्ट क्यानोपीको International Living Future Institute (ILFI) ले सञ्चालन गरेको Living Building Challenge (LBC) कार्यक्रमअन्तर्गत प्रदान गरिने मटरियल्स पेटल प्रमाणपत्र प्राप्त गर्ने प्रयासहरूमा योगदान पुर्याउँछन्।
ग्रेडिएन्ट क्यानोपीमा रहेका सार्वजनिक कलाको अवधारणा बनाउँदा भवनबाहिरको प्लाजालाई अन्वेषण गर्ने र फेरि पनि फर्केर आइराख्ने ठाउँ बनाउने खालका आकर्षक, रमाइला कला पहिचान गर्ने हाम्रो लक्ष्य रहेको थियो। संक्षेपमा, म्युजियम जस्तो नदेखिने र स्थान विशेषका भड्किला कलाकृतिका लागि परिचित नेवाडा मरुभूमिको वार्षिक रूपमा बनाइने अस्थायी शहर ब्ल्याक रक सिटीको बर्निङ म्यान कार्यक्रममा अनुभव गर्न सकिने खालका सिर्जनाहरू बनाउने हाम्रो इच्छा रहेको थियो। प्लाजामा प्रयोग भएका कलालाई जीवन्त बनाउन सघाउने सहकर्मीको खोजमा हामीले समुदायबाट सञ्चालित कला छनौट प्रक्रियामा सहकार्य गर्न गैर-नाफामूलक संस्था बर्निङ म्यान प्रोजेक्टसँग मिलेर काम गर्यौँ। समुदायको सहभागितामा बलियो प्रतिबद्धता रहेका कारण बर्निङ म्यान प्रोजेक्टले हाम्रो अन्तर्क्रियात्मक, सहभागितामूलक र सिर्जनात्मक अभिव्यक्तिको साझा अनुभव प्रस्तुत गर्ने सार्वजनिक कला बनाउने लक्ष्यअनुसार काम गर्यो।