मास टिम्बर

भवनबाट उत्सर्जन हुने कार्बनको मात्रा कम गर्नका निम्ति भवन निर्माण गर्दा काठको धेरै प्रयोग गरिएको छ।

५ मिनेट

मास टिम्बर

ग्रेडिएन्ट क्यानोपीको फर्मवर्क, गार्डरेल र ढोकालगायतका भागमा विभिन्न रूपमा टिकाउ तथा वातावरणमैत्री मास टिम्बर लुम्बरको प्रयोग गरिएको छ। फोटो: Mark Wickens।

हामीले ग्रेडिएन्ट क्यानोपी भवनमा नै Living Future Institute (ILFI) ले सञ्चालन गरेको Living Building Challenge (LBC) कार्यक्रमअन्तर्गत प्रदान गरिने मटरियल्स पेटल प्रमाणपत्र प्राप्त गरेका हौँ। यो भवन निर्माण गर्ने क्रममा मानिस तथा अन्य जीवजन्तुको स्वास्थ्यमा प्रतिकूल असर नपुर्‍याउने खालका सामग्री प्रयोग गर्ने तरिकाहरू खोज्ने कार्य अति महत्त्वपूर्ण थियो। त्यसकारण हामीले निरन्तर हुर्कने तथा कार्बन सञ्चित गर्ने काठका विशेषताहरूको लाभ उठाउने प्रयोजनका लागि भवनमा दिगो स्रोतबाट प्राप्त मास टिम्बर प्रयोग गर्ने तरिकाहरूको अन्वेषण गर्‍यौँ।

मास टिम्बर भनेको भवन निर्माण गर्ने परम्परागत विधिहरूको तुलनामा भवनबाट उत्सर्जन हुने कार्बनको मात्रा कम गर्न सकिने तरिका अपनाएर सँगै कम्प्रेस गरिएको काठ प्रयोग गरी पिलर, बिम, भित्ता, तला तथा छतहरू बनाउने विधि हो। अन्ततः मास टिम्बरले भवन निर्माणमा मुख्य भूमिका खेल्छ र हामीले यो भवन निर्माण गर्ने क्रममा सिकेको कुरा Google का अन्य निर्माण परियोजनामा पनि लागू गरेका छौँ।

मास टिम्बरका बायोफिलिक विशेषताका कारणले गर्दा यसको प्रयोग गरी स्वास्थ्यका हिसाबले अझ राम्रा, थप उत्पादनशील र आकर्षक तथा प्रेरणादायी कार्यस्थलहरू बनाउन सकिने भएकाले हामी केही समयदेखि आफ्ना सबै निर्माण परियोजनामा मास टिम्बर प्रयोग गरिरहेका छौँ। बायोफिलिया भनेको डिजाइनमा प्राकृतिक सामग्री प्रयोग गरी मानिसले सफलता हासिल गर्ने ठाउँहरू बनाउनु हो र भवनभित्र देखिने ठाउँमा काठ प्रयोग गरी विभिन्न संरचना बनाउँदा कोटिङ र पेन्ट जस्ता अतिरिक्त सामग्री प्रयोग गर्नु पर्ने आवश्यकता कम मात्र नभई भित्रै हुँदा पनि मानिसलाई प्रकृतिसँग जोडिएको महसुस गराउन पनि मद्दत पुग्छ। त्यसैले ग्रेडिएन्ट क्यानोपी भवनको डिजाइन बनाउन थाल्दा हामीले सुरुमा मास टिम्बर प्रयोग गरी यो भवनको समग्र संरचना बनाउने सम्भावनाको अन्वेषण गरेका थियौँ। हामीले चाहेका जस्ता लामा पिलर वा बिम मास टिम्बर प्रयोग गरी बनाउन सम्भव नभए तापनि हामीले सो भवनभित्रका केही संरचना भने काठ प्रयोग गरी बनाउन सफल भएका थियौँ।

ग्रेडिएन्ट क्यानोपी भवनमा मास टिम्बरलाई अझ राम्रो संरचनात्मक कडापना प्राप्त गर्नका निम्ति काठका विभिन्न टुक्रा चप्काएर बनाइएको इन्जिनियर्ड वुडको स्वरूप अर्थात् क्रस-लेमिनेटेड टिम्बर (CLT) का रूपमा प्रयोग गरिएको छ। हामीले संयुक्त सबलता प्रदान गर्ने फर्मवर्क (जुन साँचोमा कङ्क्रिट भरिन्छ) का रूपमा CLT प्रयोग गरी पहिलो तलाको कङ्क्रिट संरचना बनाउन थाल्यौँ। हामीले CLT विशेष तरिकाले प्रयोग गरेका छौँ। सामान्यतया कङ्क्रिट सेट भएपछि यसलाई हटाइन्छ तर हामीले यसलाई भुइँ तलाको बाहिरको काठको छतका साथै भित्री प्राङ्गणमा गार्डरेलको पनि काम गर्ने गरी त्यहीँ छाडेका छौँ। यो भवनभरिका ढोका तथा ती ढोकाका फ्रेम (विशेष गरी मिटिङ पड तथा सम्मेलन कक्षहरू) बनाउन पनि काठ प्रयोग गरिएको छ। यस क्रममा टोलीले विक्रेतासँग सहकार्य गरेर समग्र ढोकाको संरचनाका हकमा "Declare" लेबल प्राप्त गर्न सक्यो। सो लेबलका कारणले गर्दा हामीलाई भवनका बाँकी हिस्सामा स्वास्थ्यमा असर नगर्ने आन्तरिक वातावरण बनाउन मद्दत पुर्‍याउने खालका सामग्रीलाई प्राथमिकता दिन मद्दत पुग्यो।

फोटो: Mark Wickens।

हामीले भवन निर्माणमा CLT फर्मवर्कको प्रयोग गरेका छौँ। यसले भुइँ तलाको बाहिरको काठको छतका साथै भित्री प्राङ्गणमा गार्डरेलको पनि काम गरेको छ। फोटो: Mark Wickens।

हामीले ग्रेडिएन्ट क्यानोपी भवनको डिजाइन बनाउन थाल्दा माउन्टेन भ्यूमा त्यति बेलासम्म CLT प्रयोग गरी यति ठुलो आकारका संरचना बनाइएका थिएनन्। त्यसैले हामीले सुरुवातमा CLT एलिमेन्टहरूका आधारमा पूरै भवनको नमुना तयार पार्‍यौँ र सहरका अधिकारीहरूलाई बोलाएर यो संरचना हेर्न तथा त्यसको निरीक्षण गर्न लगायौँ। यसले गर्दा हामीलाई यो संरचना उनीहरूले तोकेका मापदण्ड अनुरूप छ भन्ने कुरा सुनिश्चित गर्न मद्दत पुग्यो। हामीले भौतिक प्रोटोटाइपहरू बनाएको हुनाले हामीलाई सहकार्य गरेर सहरले तोकेका मापदण्ड पूरा गर्ने उपाय पत्ता लगाउनुका साथै भवन निर्माण गर्ने थप दिगो तरिकाहरू अपनाउन पनि मद्दत पुग्यो।

हामीले ग्रेडिएन्ट क्यानोपी भवनमा प्रयोग गरिएको काठ दिगो स्रोतबाट प्राप्त गरिएको हो भन्ने कुरा पनि सुनिश्चित गर्‍यौँ। ग्रेडिएन्ट क्यानोपी भवन निर्माण गर्दा प्रयोग गरिएको ९९% भन्दा बढी नयाँ काठ (अस्थायी रूपमा प्रयोग गरिएका र सदाका लागि प्रयोग गरिएका दुवै) वन संरक्षण परिषद् (FSC) ले प्रमाणित गरेका जिम्मेवार ढङ्गले व्यवस्थापन गरिएका जङ्गलबाट ल्याइएका हुन्। सामान्यतया फर्मवर्क जस्ता अस्थायी रूपमा प्रयोग गरिने र पछि भावी परियोजनाहरूमा फेरि प्रयोग गर्न सकिने काममा FSC ले प्रमाणित गरेको काठ खरिद गरिँदैन। तर यो परियोजनामा प्रयोग गरिएको कुल काठमध्ये अस्थायी रूपमा प्रयोग गरिएका काठको प्रतिशत उच्च भएकाले त्यस्ता काठको हिसाब राख्नु महत्त्वपूर्ण थियो। FSC ले प्रमाणित गरेका काठ प्रयोग गर्नुको अर्थ हामीले प्रयोग गरिरहेको काठ जिम्मेवार ढङ्गले व्यवस्थापन गर्ने निकायबाट लिइएको हो भन्ने मात्र नभई हामी मासिएका जङ्गल फेरि खडा गर्न अझ बढी योगदान गर्दै छौँ भन्ने पनि हो। त्यसकारण हामी स्वास्थ्यका हिसाबले अझ राम्रा तथा जिम्मेवार ढङ्गले व्यवस्थापन गर्ने निकायबाट लिइने सामग्रीहरू दिगो विकास गर्न मात्र नभई निरन्तर रूपमा फेरि प्रयोग गर्न तथा वातावरणमा पुगेको असर ठिक पार्न सकिने अझ बृहत् वृत्ताकार अर्थतन्त्र सिर्जना गर्न पनि महत्त्वपूर्ण हुन्छन्।

ग्रेडिएन्ट क्यानोपीमा मास टिम्बर वुड प्रयोग गरिँदै छ।

ग्रेडिएन्ट क्यानोपीमा मास टिम्बर वुड प्रयोग गरिँदै छ।

हामीले ग्रेडिएन्ट क्यानोपी भवनको डिजाइन बनाउने क्रममा गरेको मास टिम्बरसम्बन्धी अनुसन्धानले अहिले Google का अन्य भवनको डिजाइन बनाउन मद्दत गरिरहेको छ। उदाहरणका लागि, हामीले हालसालै क्यालिफोर्नियाको सन्निभेलमा मास टिम्बरले बनेको हाम्रो पहिलो भवन अर्थात् 1265 Borregas को निर्माण कार्य सकेका छौँ। कार्बन सञ्चित विशेषताका कारणले गर्दा स्टिल तथा कङ्क्रिटले बनेको उस्तै भवनको तुलनामा यस भवनबाट ९६% कम कार्बन उत्सर्जन हुने अपेक्षा गरिएको छ। हामीले ग्रेडिएन्ट क्यानोपी भवन निर्माण गर्दा सिकेका कुराले अझ दिगो तथा स्वास्थ्यमा असर नगर्ने भवनहरूको डिजाइन बनाउन कसरी प्रेरित गरेका छन् भन्ने कुराको यो एउटा उदाहरण मात्र हो।