Google को स्थापनाकालदेखि नै हामी हाम्रो कम्पनीको सफलता हाम्रा कर्मचारीहरूको हातमा निर्भर छ भन्ने कुरामा पूर्ण रूपमा विश्वस्त रहँदै आएका छौँ। यसकारण हामीले Google का कर्मचारीका साथै सबैको खुसी र सामुहिक कल्याण हुने गरी हाम्रा कार्यस्थलहरू बनाउन ध्यान केन्द्रित गरेका छौँ। हामीले प्रयोगकर्तालाई पहिलो प्राथमिकता दिने यो सोच ग्रेडिएन्ट क्यानोपीमा भित्रि भागहरूको व्यवस्थापन गर्दा प्रयोग गरिएको मुख्य डिजाइनमा पनि झल्किन्छ: अर्थात् हामीले भवनलाई दुई तलामा मात्र विभाजन गरेका छौँ। यहाँ माथिल्लो तलामा भित्री "प्राङ्गणहरू" सहित कर्मचारी र टोलीका लागि काम गर्ने डेस्क तथा ठाउँहरू छन्। ती प्राङ्गणहरू भुइँतलाका सम्मेलन कक्ष, प्राङ्गण र सबै टोलीका लागि बनाइएका बैठक कक्षलगायतका सुविधायुक्त ठाउँहरूसँग जोडिएका छन्।
दोस्रो तलामा कार्यस्थलहरू दिगोपन, अनुकूलन क्षमता र एकाग्र भएर गर्नु पर्ने कामलाई ध्यानमा राखी बनाइएका हुन्। पूरै माथिल्लो तलामा तयारी कोठा, भित्ता र सार्न मिल्ने फर्निचरहरू प्रयोग गरिएका छन्। यसले गर्दा ठाउँ व्यवस्थापन गर्न सजिलो हुनुका साथै कत्ति पनि फोहोर नगरी ठाउँहरूको स्वरूप परिवर्तन गर्न सकिन्छ भने पछि तिनै सामग्रीहरू पुनः नयाँ संरचनाका लागि प्रयोग गर्न सकिन्छ। यस तलामा एकाग्र भएर गर्नु पर्ने कामका प्रशस्त ठाउँ उपलब्ध गराइएको छ भने तल्लो तलामा सहकार्य गर्ने ठाउँका साथसाथै दिनभर मानसिक तथा शारीरिक विश्राम लिने ठाउँहरू पनि उपलब्ध गराइएका छन्।
ग्रेडिएन्ट क्यानोपीको पहिलो तलामा रहेका प्राङ्गणहरूमा हाम्रा मानिसहरू एक-अर्कासँग नजिकिन पाउँछन्। साथै यिनले सबैका लागि स्वस्थ र उत्पादनशील वातावरण प्रदान गरेका छन्। सामान्य कार्यालयहरूमा तपाईं काम गर्ने डेस्क राखिएका ठाउँ र अन्य सुविधायुक्त ठाउँहरू सँगसँगै राखिएको देख्न सक्नुहुन्छ। दुवै तलाका कुल २० वटा प्राङ्गण खुला सिँढीले जोडिएका छन्। ती प्राङ्गणहरूका कारण कर्मचारीहरू सजिलैसँग विभिन्न सुविधायुक्त स्थलहरूमा जान सक्छन्। साथै टोलीहरू आफूले चाहेअनुसार विभिन्न प्रयोजनका लागि पनि यी प्राङ्गणहरू प्रयोग गर्न सक्छन्।
एकातिर यी प्राङ्गणहरूले एकाग्र भएर काम गर्न बनाइएका ठाउँहरूलाई होहल्ला हुने ठाउँबाट अलग्याएका कारण Google का कर्मचारीहरूले राम्ररी काम गर्न पाएका छन् भने अर्कातिर कर्मचारीहरूले यी प्राङ्गणमा जाँदा मिले बायोफिलिक लाभहरू (प्रकृतिसँगको सम्बन्धबाट प्राप्त हुने फाइदाहरू) का कारण दिनभर आफूमा स्फूर्ति ल्याउन पाएका छन्। उत्कृष्ट डिजाइनहरूले प्रकृति र मानव स्वास्थ्यको बिचमा गहिरो सम्बन्ध रहेको कुरालाई प्रतिबिम्बित गर्छन् भन्ने हामीलाई थाहा छ, त्यसैले हामीले ग्रेडिएन्ट क्यानोपीलाई मानिसहरूले प्रगति गर्न सक्ने स्थान बनाउन यसमा बायोफिलिक डिजाइनका सिद्धान्तहरू समावेश गरेका छौँ। बायोफिलिक डिजाइनहरूले प्रकृतिसँग रहँदा प्राप्त हुने अनुभव जस्तै बहु संवेदी अनुभव प्रदान गर्न विभिन्न ठाउँहरू उपलब्ध गराउँछन्। मानिसहरूले प्राङ्गण प्रयोग गरी एक तलाबाट अर्को तलामा जाँदा शारीरिक लाभ पाउनुका साथै भवनमा यताउता जान नयाँ-नयाँ बाटाहरू प्रयोग गर्ने मौका पाउँछन्। यसले दिनभर मानिसहरूको दिमाग ताजा राख्छ र उनीहरूलाई रचनात्मक बनाउँछ। साथै प्राङ्गणहरूकै कारण पर्खालको माथिपट्टि रहेका झ्यालहरूबाट तल्लो तलामा प्रकाश आउँछ। यसले शरीरको प्राकृतिक लय कायम राख्न मद्दत पुर्याउँछ।