अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने पार्किङ स्थल

भविष्यमा कारको सङ्ख्या घट्ने भएकाले त्यसलाई ध्यानमा राखेर Alta Garage को निर्माण गरिएको छ

५ मिनेट

माउन्टेन भ्यूमा अवस्थित Google को Alta Garage

माउन्टेन भ्यूमा अवस्थित Google को Alta Garage

सामान्यतया पार्किङ ग्यारेजहरू आर्किटेक्चरका रूपमा नौला हुँदैनन्। समाजका अधिकांश मानिस अझै पनि आफ्नो गन्तव्यमा पुग्न कारहरू प्रयोग गर्छन् र ती कार पार्क गर्न पार्किङ ग्यारेजहरू चाहिन्छ। तर भविष्यमा कारको सङ्ख्या घट्ने र यातायातका थप दिगो माध्यमहरू उपलब्ध हुने सम्भावना भएकाले उत्सर्जन हुने कार्बनको मात्रा तथा ट्राफिक जाम कम भई पार्किङ स्थलको आवश्यकता पनि बिस्तारै कम हुँदै जान सक्छ। परिणामस्वरूप कार पार्क गर्न मात्र प्रयोग गरिने पार्किङ ग्यारेजहरू नचाहिन सक्ने भएकाले त्यस्ता ग्यारेजहरू भत्काइन सक्छ। यसले गर्दा फाल्तू सामग्रीको मात्रा, कार्बनको मात्रा र लागत बढ्न सक्छ। त्यसैले माउन्टेन भ्यूमा अवस्थित Google को नयाँ Alta Garage बनाउने क्रममा भविष्यलाई मध्यनजर गर्दै पार्किङ ग्यारेजका लागि मात्र नभई आवश्यक पर्दा रूपान्तरण गरी व्यावसायिक, आवासीय तथा सामुदायिक कामका लागि पनि प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको हो।

यो आइडियालाई फ्युचर प्रुफ पार्किङ भनिन्छ: समयक्रमसँगै समाजका आवश्यकताहरू परिवर्तन हुने भएकाले Alta Garage मा पनि परिवर्तनहरू गर्नु पर्ने हुन सक्छ। अझ धेरै कार्यालय, आवास, सुविधा वा कार्यक्रम स्थलहरू चाहियो? पार्किङको माग घट्दै जाँदा Alta Garage लाई रूपान्तरण गरी यी कामका लागि प्रयोग गर्न मिल्ने बनाउन सकिन्छ। साथै यो कार्य लागत कम हुने, समय बचत हुने, फाल्तू सामग्रीको मात्रा घट्ने र दिगोपना बढ्ने गरी गर्न सकिन्छ।

Alta Garage 1001

Alta Garage भविष्यलाई ध्यानमा राखेर बनाइएको पार्किङ ग्यारेज हो। यसलाई भविष्यमा आवश्यकताअनुसार अन्य प्रयोजनका लागि पनि प्रयोग गर्न सकिने छ।

हामी लामो समयदेखि कारपुल कार्यक्रम, स्वचालित सवारी साधन र मानिसलाई थप वातावरण मैत्री विकल्पहरू रोज्न मद्दत गर्ने प्रविधिलगायतका यातायातका दिगो माध्यमहरूका सम्बन्धमा अनुसन्धान गर्न प्रतिबद्ध रहिआएका छौँ। यी लक्ष्यका साथै भविष्यका आवश्यकताहरूलाई ध्यानमा राखेर र माउन्टेन भ्यू सहरको यो क्षेत्रलाई कारको प्रयोग सकेसम्म कम गर्ने तथा यात्राका दिगो विकल्पहरूको प्रवर्धन गर्ने क्षेत्र बनाउने दृष्टिकोणलाई पनि समर्थन गर्ने गरी Alta Garage को निर्माण गरिएको छ।

तर अहिलेका लागि उपयुक्त हुने र भविष्यका विभिन्न आवश्यकताअनुसार रूपान्तरण गर्न पनि सकिने खालको ग्यारेज कसरी डिजाइन गर्न सकिन्छ त? सन् २०१८ मा Google को Real Estate R&D Lab टोलीले यो प्रश्नका बारेमा विचारविमर्श गर्न थाल्यो। एक जना चालकले चलाउने कारसम्बन्धी परियोजनामा ध्यान दिन छाडेर बस, बाइक तथा स्वचालित सवारी साधन (AV) जस्ता कम कार्बन उत्सर्जन गर्ने यातायातका माध्यमहरूलाई बढावा दिने Google का संस्थापकहरूको इच्छाका कारण यस विषयमा छलफल सुरु भएको थियो।

Google को R+D Lab for the Built Environment का निर्देशक Michelle Kaufmann भन्नुहुन्छ: “हामी भविष्यमा आवश्यक पर्न सक्ने जुनसुकै प्रयोजनका लागि निर्माण गर्न चाहन्छौँ।” “कम लागतमै रूपान्तरण गर्न मिल्ने संरचना निर्माण गर्न आवश्यक पर्ने कुराहरू निर्धारण गर्ने प्रयोजनका लागि हामीले प्रयोगशालामा निर्माणका विभिन्न विधि, सामग्री, आकार र रणनीतिहरूका बारेमा अनुसन्धान गर्‍यौँ।”

भविष्यमा पार्किङ स्थल कसरी अन्य प्रयोजनका लागि प्रयोग गर्न सकिन्छ भन्ने कुरा देखाइएको ट्रान्जिसन

Alta Garage लाई भविष्यमा आवासीय वा व्यापारिक भवनमा रूपान्तरण गर्न मद्दत गर्ने कुराहरू पत्ता लगाउनका लागि R&D Lab ले निकै मेहनत गरेको छ।

यसको मुख्य उद्देश्य भनेको भविष्यमा आवश्यक परेका खण्डमा ग्यारेजलाई कयौँ तरिकाले रूपान्तरण गर्न सकियोस् भन्नाका लागि भवनको परिवर्तन तथा रूपान्तरण गर्न सकिने आधारभूत संरचना निर्माण गर्नु थियो। यसको हालको अवस्थामा ग्यारेजमा १,७०० वटाभन्दा बढी कारका साथै इलेक्ट्रिक कारका ४५० वटाभन्दा बढी चार्जिङ स्टेसन राख्न सकिन्छ र Google का कर्मचारीका साथै Google Visitor Experience का अतिथिहरूका लागि पार्किङको व्यवस्था उपलब्ध छ। तर पार्किङ र्‌याम्पहरू रूपान्तरण गरी टेरेस तथा भित्री सिँढीहरू बनाएर हरेक तलालाई भविष्यमा सुविधा, कार्यालय वा आवासका रूपमा प्रयोग गर्न सकिन्छ। सजिलै रूपान्तरण गर्न सकियोस् भन्नाका लागि हामीले तलाको उचाइ घटबढ गरी र र्‌याम्प हटाउँदा पनि भित्र सूर्यको अधिकतम प्रकाश पुग्ने कुरा सुनिश्चित गर्न भावी परिस्थितिहरूलाई ध्यानमा राखेर सूर्यको प्रकाशका सम्बन्धमा पनि अध्ययन गर्‍यौँ। यो रूपान्तरण प्रक्रिया सहज बनाउन हामीले Clark Pacific, Gensler, Hollins, International Parking Design, Ellis Partners, SPMD Design र अन्य साझेदारहरूसँग प्रत्यक्ष रूपमा सहकार्य गरेर सामान्य पार्किङ ग्यारेजभन्दा बेग्लै बनाउने डिजाइनका कयौँ एलिमेन्टहरू प्रयोग गर्‍यौँ।

Google का निर्माण निर्देशक Jeffrey Curry यसो भन्नुहुन्छ: “एउटा उदाहरणका रूपमा यो ग्यारेजको तला एकदमै ठुलो छ र यसको छतको उचाइ एकदमै बढी छ भने यो ग्यारेज कार्यालय वा खुद्रा पसलका लागि बढी उपयुक्त हुन्छ।” “कारलाई विभिन्न तलामा लैजान प्रयोग गरिने र्‌याम्पहरू हटाउन मिल्छ र भविष्यमा ती र्‌याम्प हटाएर एट्रियम, प्राङ्गण वा टेरेसहरूमा सूर्यको प्रकाश पार्न सकिन्छ।

Alta Garage

Alta Garage लाई भविष्यमा अन्य प्रयोजनका लागि प्रयोग गर्न सकियोस् भन्नाका लागि यसमा अग्लो सिलिङ राखिएको छ र ठाउँ खाली छोडिएको छ।

यसका साथै तलाहरू पानी निकास हुने गरी समतल बनाइएको हुनाले ग्यारेजका रूपमा प्रयोग गरिसकेपछि अर्कै कामका लागि सजिलै रूपान्तरण गर्न सकिन्छ। प्रिकास्ट कङ्क्रिटलाई व्यावसायिक वा आवासीय भवनमा प्रयोग गरिने मापदण्ड अनुरूप नै अझ बढी भार उठाउन सक्ने गरी बलियो बनाइएको छ। यसले गर्दा रूपान्तरण गरिएको भवन विभाजन गरी विभिन्न खण्डहरू बनाउन सकियोस् भन्नाका लागि पर्दा पर्खाल प्रयोग गर्न पनि सकिन्छ। साथै यसमा पहिल्यैदेखि ठाउँ छाडिएको हुनाले भविष्यमा पानीका पाइप र बिजुलीका तार बिछाउन सजिलो हुने छ।

Alta Garage अन्य प्रयोजनका लागि प्रयोग गर्नका निम्ति कसरी रूपान्तरण गरिने छ भन्ने कुरा देखाइएको फोटो

हामीले भविष्यमा Alta Garage लाई आवासीय वा व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने कुरा फोटो रेन्डरिङमार्फत देखाएका छौँ।

Alta Garage लाई भविष्यमा आधा ग्यारेज र आधा कार्यालय बनाउन वा पूर्ण रूपमा रूपान्तरण गरी अर्कै कामका लागि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ। वास्तुकारहरूका लागि फ्युचर प्रुफिङ गर्नु भनेको ग्यारेजको डिजाइन बनाउने क्रममा त्यसलाई रिभर्स इन्जिनियरिङ गर्नु बराबर नै थियो। भविष्यमा यसलाई रूपान्तरण गरी कार्यालय बनाइएका खण्डमा सिँढी र एलिभेटर साफ्टहरू कहाँ राख्ने? अपार्टमेन्ट भवन बनाउने हुँदा त्यसका लागि आवश्यक पर्ने प्लम्बिङ तथा हिटिङ र कुलिङ सिस्टमहरूका लागि कुन ठाउँ छुट्याउने? Kaufmann भन्नुहुन्छ: “हामीले आवास तथा कार्यालय दुवैका तलासम्बन्धी योजना तयार पार्नु पर्‍यो र फेरि ध्यान दिएर अध्ययन गरी त्यो योजनामा भएका र पहिलो दिनदेखि नै पार्किङमा समावेश गर्न सकिने साझा कुराहरू पत्ता लगाउनु पर्‍यो।”

स्क्रोल गरी दुई वटा फोटोहरू हेर्नुहोस्: (१) सुरुदेखि नै Alta Garage मा बनाइएका फ्युचर प्रुफ एलिमेन्टहरू (२) Alta Garage को भवनलाई आवासीय वा व्यापारिक कुन प्रयोजनका लागि प्रयोग गर्ने भन्ने कुराका आधारमा भविष्यमा सजिलै समायोजन गर्न सकिने थप सुविधाहरू।

तर आन्तरिक डिजाइनले मात्र Alta Garage लाई अद्वितीय बनाउँदैन; बाहिरबाट पनि यो ग्यारेज तपाईंको सामान्य पार्किङ ग्यारेज जस्तो देखिँदैन। क्यालिफोर्नियाका कलाकार Kim West ले यो कलाकृतिको डिजाइन बनाउनुभएको हो र SPMDesign ले सो डिजाइन छनौट गरी तयार पारेको हो। यो कलाकृतिको बाहिरी डिजाइनलाई Ode to Bohemia No. 5 भनिन्छ। यो कलाकृति स्थानीय प्रजातिका बोटबिरुवाबाट प्रेरित छ र यसमा दिनभरि विभिन्न रङहरूमा चम्कने ९७,५०० वटा रङ्गीत धातुजन्य टुक्रा समावेश गरिएका छन्। यो कलाकृतिले रङ, ऊर्जा र सिर्जनशीलता समावेश गरेर मानिसको अनुभव अझ राम्रो बनाउँछ। भवनको डिजाइन जसरी नै भविष्यलाई ध्यानमा राखेर यसको डिजाइन बनाइको छ। सजावटका यी टुक्राहरू भविष्यमा आवश्यकताअनुसार छुट्याउन र सारेर अर्कै लोकेसनमा लैजान सकिन्छ।

Kim West को कलाकृति "Ode to Bohemia No. 5" ले भवनलाई अझ सुन्दर र जीवन्त बनाएको छ भने आवश्यक परेका खण्डमा यसलाई भविष्यमा अन्य ठाउँमा सार्न पनि सकिन्छ।

भविष्यमा Alta Garage लाई पार्किङ संरचनाका रूपमा हटाइए तापनि यसको भुइँ तलालाई स्वचालित सवारी साधनहरूको चार्जिङ तथा पिकअप स्टेसनका रूपमा प्रयोग गर्न सकिन्छ। छतमा भवनको ऊर्जा सिर्जना गर्न मद्दत गर्ने फोटोभोल्टेइक सोलर प्यानल छ र भविष्यमा डेलिभरी ड्रोन, उड्ने कार वा स्वचालित सवारी साधन जस्ता कुराहरूका लागि छतको पार्किङ प्रयोग गर्न सकिन्छ।

भविष्यमा जुनसुकै कामका लागि Alta Garage प्रयोग गरिए तापनि आज यसको डिजाइन भविष्यलाई ध्यानमा राखेर बनाइएको छ।

Alta Garage को फोटोभोल्टेइक सोलर प्यानल देखाइएको ओभरहेड रेन्डरिङ।