क्याफे @ माउन्टेन भ्यू

हाम्रो नयाँ सार्वजनिक क्याफेमा वातावरण मैत्री तरिकाले ल्याइने खाद्यान्नमार्फत समुदायलाई एकसाथ ल्याउने कार्य।

३ मिनेट

Google Visitor Experience मा क्याफे @ माउन्टेन भ्यू। फोटो: Mark Wickens।

Google Visitor Experience मा क्याफे @ माउन्टेन भ्यू। फोटो: Mark Wickens।

ग्रेडिएन्ट क्यानोपीमा उपलब्ध Google Visitor Experience मा Google को संस्कृतिको महत्त्वपूर्ण पक्ष हाम्रो खाद्य कार्यक्रम पहिलो पटक आम मानिसहरूका लागि उपलब्ध हुने छ। नयाँ Cafe @ Mountain View हाम्रो सबैभन्दा पहिलो आम मानिसमा केन्द्रित खाना खाने सुविधा हो। यहाँ समुदायहरू खाना किन्न र हाम्रा दिगो विकासका प्राथमिकता र संसारलाई सहयोग गर्ने मार्गदर्शनहरूमा सहभागी हुन सक्छन्।

१९९९ देखि हाम्रो खाद्य कार्यक्रमले Google को सिर्जनात्मकता, सहकार्य र समुदायको संस्कृतिलाई सबल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। आकर्षक स्थानहरूमा स्वादिष्ट र पौष्टिक खानाहरू उपलब्ध गराएर हामी मानिसहरूबिच सम्बन्ध स्थापित गर्ने र विचार आदानप्रदान गर्ने कार्यमा सहयोग गर्न काम गरिरहेका छौँ। हाम्रा खानाकै कारण अनगन्ती आविष्कारहरू भएका छन् — यसरी आविष्कार भएको कुरामा Gmail पनि पर्छ। यो सुविधा हाम्रो कुनै क्याफेमा खाना खाने क्रममा भएको कुराकानीका कारण जन्मेको हो।

Google को खाद्य कार्यक्रमले सधैँ समुदायलाई केन्द्रमा राख्ने गर्छ। यसका लागि हामी आफ्नै परिसरमा समुदाय निर्माण गर्ने र खाद्य सामग्री जुटाउनेदेखि लिएर खाना तयार पार्नेसम्मका गतिविधिमार्फत अन्य समुदायहरूसँग जोडिने कार्य गरिरहेका छौँ। हाम्रो पाककलासम्बन्धी एउटा मुख्य सिद्धान्त समुदायको हेरचाह गर्नु हो, यसको अर्थ हामी हामीले खानासम्बन्धी कुरामा गरेका छनौटहरूले Google भित्र र बाहिर उल्लेख्य प्रभाव पार्छन् भन्ने बुझ्छौँ। हाम्रो खाद्य कार्यक्रमले स्थानीय आपूर्ति शृङ्खला र पूरै संसारमा कसरी सकारात्मक प्रभाव पार्न सक्छ भन्ने कुरालाई लिएर हामी आफूले बनाउने मेनुदेखि लिएर खाद्य सामग्री किन्ने ठाउँ र खाना बनाउने तरिकासम्मका कुरामा ध्यान दिइरहेका हुन्छौँ।

हाम्रो खाद्य कार्यक्रमले सकारात्मक परिवर्तनको बीजारोपण गर्न र भविष्यमा अझ राम्रो खाद्य प्रणाली विकास गर्न पछिको सोच राखी गरिने साझेदारी र दिगोपनसम्बन्धी अभियानहरूको नेतृत्व गर्छ। हाम्रा पाककलाका विज्ञहरू हामीले स्थानीय आपूर्तिकर्ताहरूसँग बनाएका सम्बन्धका कारण स्थानीय, मौसमी सामग्रीहरूबाट प्रेरणा लिई खानाका परिकारहरू बनाउँछन्। हामी सामग्रीका आपूर्तिकर्ता होसियारीपूर्वक छान्छौँ र हाम्रा मूल्य मान्यतालगायत दिगोपन, व्यवसायको स्वामित्वमा विविधता र सामुदायिक उत्थानप्रति प्रतिबद्ध आपूर्तिकर्तासँग काम गर्छौँ। उत्सर्जन हुने कूल कार्बन घटाउन हामी पुनर्उत्पादक कृषि पद्धति अपनाउने, पुराना सामग्रीलाई रूपान्तरण गरी नयाँ सामग्री बनाउने तथा सामग्रीहरूको प्याकेजिङ गर्दा न्यूनतम सामग्रीको प्रयोग गर्ने आपूर्तिकर्ताहरूलाई प्राथमिकता दिन्छौँ र सम्भव भएसम्म हवाइमार्गबाट ढुवानी गरेका उत्पादनको साटो स्थानीय उत्पादनहरू छनौट गर्छौँ। यसरी हामी खाद्य तथा पेय पदार्थ उद्योगलाई वातावरण र हाम्रो पालन पोषण गर्ने समुदायहरूलाई फाइदा पुग्ने गरी जिम्मेवार ढङ्गले काम गर्न प्रेरित गरिरहेका छौँ।

हामी हाम्रो खाद्य कार्यक्रममा सामग्री जुटाउनुका साथै दिगोपनसम्बन्धी यी दुई मुख्य अभ्यासमा केन्द्रित हुन्छौँ: खानाजन्य फोहर न्यूनीकरण गर्ने र एक पटक मात्र प्रयोगमा आउने प्लास्टिक हटाउने। मानिसले उपभोग गर्न बनाएका सबै खानाको करिब ३५% वा करिब १ खर्ब ३३ अर्ब पाउन्ड खाना हरेक वर्ष खेर जान्छ भन्ने कुरा हामीलाई थाहा छ। Google का दिगोपनसम्बन्धी लक्ष्यहरूलाई सघाउन हामीले २०२५ सम्ममा ल्यान्डफिलमा पठाउने खानाजन्य फोहरको मात्रा शून्य बनाउने लक्ष्य राखेका छौँ। कसरी? हामीले खाना खेर जान नदिन यी तीन उपायमा ध्यान केन्द्रित गरेका छौँ: खाना जुटाउने वा खरिद गर्ने क्रममा खानेकुरा सकेसम्म कम खेर फाल्ने, खाना बनाउँदा हाम्रा भान्साबाट खाने कुरा कम खेर जाओस् भन्नाका लागि प्रविधि प्रयोग गरी हाम्रा किचन तथा क्याफेहरू सुधार गर्ने र बढी भएको खाना अर्को प्रयोजनका लागि प्रयोग गर्ने वा उपयुक्त तरिकाले नष्ट गर्ने। हामीले २०१४ देखि २०२१ सम्म करिब एक करोड पाउन्ड खाना ल्यान्डफिलमा जानबाट बचाएका छौँ।

हामी हाम्रा खाना राख्ने स्थानहरूबाट प्लास्टिक न्यूनीकरण गर्न पनि कडा मेहनत गरिरहेका छौँ। हामी उत्पादनहरू एकमुस्ट रूपमा खरिद गर्छौँ र सम्भव भएसम्म नवीन, न्यूनतम सामग्री प्रयोग गरी प्याकेजिङ गरिएका उत्पादनहरू छनौट गर्छौँ र हामीले उत्पादनहरू ढुवानी गर्न तारबाट बनाइएका बास्केटहरू प्रयोग गर्न थालेका छौँ। साथै हामीले एक पटक मात्र प्रयोग हुने दहीका कपहरू विस्थापित गर्न दहीको नयाँ बार प्रयोग गर्ने र एक पटक मात्र प्रयोग हुने प्याकेजिङ सामग्रीबाट फोहोर उत्पन्न हुन नदिन ठुला कन्टेनरहरूमा खाजा दिने कुरामा पनि विचार गरेका छौँ।

क्याफे @ माउन्टेन भ्यूमा ताजा खाना पाइन्छ। फोटोहरू: Mark Wickens।

अब हाम्रो खाद्य कार्यक्रम सार्वजनिक रूपमा उपलब्ध भएकाले र Cafe @ Mountain View मा खाना किन्न सकिने भएकाले हामी संसारमा सकारात्मक प्रभाव पर्ने गरी खानाको प्रयोग गर्ने हाम्रो प्रयासमा सामेल हुन समुदायलाई स्वागत गर्छौँ। हामी सन्तुलित शाकाहारी पाक विधिमा कसरी नयाँपन ल्याउँछौँ भन्ने कुरा थाहा पाउन हाम्रो कार्यक्रममा आउनुहोस् र हाम्रा सेफहरूले दिगोपन र विविध स्वादहरू ध्यानमा राख्दै स्थानीय रूपमा उत्पादित मौसमी सामग्री प्रयोग गरी तयार पारेका क्यालिफोर्नियाका ताजा परिकारहरूको आनन्द उठाउनुहोस्। हामी यो ठाउँमा भेला भएर हाम्रा पाककलासम्बन्धी सिर्जनात्मकता र मानिस तथा वातावरणको कल्याणका लागि हाम्रो प्रतिबद्धता सेयर गर्न सक्छौँ।