चरामैत्री डिजाइन

चराचुरुङ्गीलाई कुनै खतरा नहोस् भनेर वरपरको वातावरणलाई ध्यानमा राखी भवनको निर्माण गरिएको छ।

३ मिनेट

चारैतिर रूखहरूले घेरिएको ग्रेडिएन्ट क्यानोपी भवन

चारैतिर रूखहरूले घेरिएको ग्रेडिएन्ट क्यानोपी भवन। फोटो: Google का लागि Iwan Baan ले खिच्नुभएको।

ग्रेडिएन्ट क्यानोपी बनाउनुको एउटा लक्ष्य पर्यावरणलाई ध्यानमा राख्दै यस परियोजनाअन्तर्गतका संरचना निर्माण गर्नु र पर्यावरणमा परेको असरलाई समयसँगै ठिक गर्दै जानु थियो। हाम्रा लागि “पर्यावरणमा पर्ने असर ठिक गर्नु” भनेको यस क्षेत्रको पर्यावरणलाई दीर्घकालीन रूपमा स्वस्थ राख्ने खालको ठाउँ तयार गर्नु हो। हामी यस्तो ठाउँ तयार गर्न चाहन्छौँ जहाँ मानिस तथा वन्यजन्तुहरूले जलवायु परिवर्तनका बाबजुद पनि जिउनका लागि उपयुक्त वातावरण प्राप्त गरिरहन्छन्। हामीले ग्रेडिएन्ट क्यानोपीमा वन्यजन्तुको अस्तित्वका लागि नभई नहुने ऐतिहासिक वातावरण पुनर्स्थापना गर्ने प्रयास गरेका छौँ। हामीले खास गरी सङ्गबर्ड, भँगेरा, हमिङ्गबर्ड र फिस्टो जस्ता स्थानीय चरा र अन्य वन्यजन्तुका लागि सहरिया वातावरण हानिकारक हुन्छ भन्ने कुरा बुझेका छौँ। त्यसैले हामीले यो कुरालाई ध्यानमा राख्दै विभिन्न चरामैत्री रणनीतिहरू अवलम्बन गरेर ग्रेडिएन्ट क्यानोपीको डिजाइन गरेका छौँ।

भवनमा प्रयोग गरिने सिसाले चराचुरुङ्गीलाई गम्भीर असर गर्ने भएकाले चराहरू भवनमा नठोक्किऊन् भनेर ग्रेडिएन्ट क्यानोपीको भवनको संरचना, वरपरको क्षेत्र र लाइटिङको डिजाइन LEED Innovation in Design Credit: Bird Collision Deterrence बमोजिम गरिएको थियो।

कस्तो डिजाइन चरामैत्री हुन्छ भन्ने कुरा थाहा पाउन हामीले H.T. Harvey & Associates का वातावरणसम्बन्धी परामर्शदाताहरूसँग सहकार्य गरी चरामैत्री भवन निर्माण गर्दा पालना गर्नु पर्ने मुख्य मापदण्ड तथा सिफारिसहरूको पालना गरेका छौँ। अन्ततः हामीले ग्रेडिएन्ट क्यानोपीमा मुख्य गरी दुई तरिकाले चरामैत्री डिजाइन प्रयोग गरेका छौँ। पहिलो तरिका भनेको हामीले भवनमा प्रयोग गरिएका सिसाहरू कम पारदर्शी बनाएका छौँ र ती सिसाहरूले कम प्रकाश प्रतिविम्बित गर्ने बनाएका छौँ। त्यस्तै दोस्रो तरिकाका रूपमा हामीले भवनभित्र र बाहिर प्रयोग गरिएका बत्तीहरूमा विशेष समायोजन गरेर रातिको समयमा भवनबाट हुने प्रकाशको प्रदूषण कम गरेका छौँ।

सिसा पारदर्शी हुने भएकाले चरा र मानिसहरू दुवैले यसलाई देख्न सक्दैनन्। तर सिसाबाट प्रकाश प्रतिविम्बित भएको र झ्यालको फ्रेम देखेर मानिसहरूलाई समयसँगै यसको बानी पर्दै जान्छ। तर चराहरूको तीन आयाममा वस्तु देख्ने र दूरी आकलन गर्ने क्षमता एकदमै कम हुने भएकाले उनीहरू सिसामा देखिने आकाश वा अन्य भूदृश्यको प्रतिविम्बलाई वास्तविक ठान्छन्। पारदर्शी सिसा प्रयोग गरिएको छ र चराहरूले सिसाबाट हेर्दा सिसाको कुनामा वा भवनभित्र बोटबिरुवा वा सागसब्जी देखे भने चराहरूले त्यहाँ सिसा भएको थाहा नपाउने भएकाले उनीहरू उडेर सिसामा ठोक्किन पुग्छन्। खास गरी भवनको भित्तामा प्रयोग गरिएको सिसा पारदर्शी भएर वा सिसाले प्रकाश प्रतिविम्बित गरेर उक्त सिसामा जति स्पष्ट रूपमा आकाश वा बोटबिरुवा देखिन्छ चरा उक्त सिसामा गएर ठोक्किने सम्भावना त्यति नै धेरै हुन्छ।

त्यसैले यो समस्या समाधान गर्न हामीले ग्रेडिएन्ट क्यानोपीमा न्यून रिफ्लेक्टिभिटी इन्डेक्स भएको सिसा प्रयोग गरेका छौँ। सिसा उत्पादन गर्ने प्रविधि र तरिकामा हालसालै भएका विकासले गर्दा सूर्यको प्रकाश तथा ताप छिर्ने क्षमतामा कुनै कमी नआउने गरी सिसाको बाहिरी भागको प्रकाश प्रतिविम्बित गर्ने क्षमता कम गर्न सम्भव भएको छ। त्यसैले हामीले भवनको अगाडिको भाग र झ्यालहरूमा अझ उपयुक्त सिसा प्रयोग गरेका छौँ। सिसाको ठाउँठाउँमा सजिलै देखिने खालका चिन्ह (जस्तै, डिकल र इम्बेडेड सेरामिक “फ्रिट”) लगाउँदा चराहरूले त्यस्ता चिन्हलाई अवरोधका रूपमा बुझ्ने र सिसा हुँदै उड्न नखोज्ने भएकाले यस्तो गरेर पनि सिसामा ठोक्किएर चरा मर्ने समस्या कम गर्न सकिन्छ। सानाभन्दा साना हमिङ्गबर्डहरूलाई समेत सुरक्षा प्रदान गर्ने हेतुले हामीले American Bird Conservancy का पछिल्ला मार्गदर्शनहरूको पालना गरेर बाक्लो प्याटर्न भएका चिन्ह लगाएका छौँ। हामीले ग्रेडिएन्ट क्यानोपीको बाहिरी सिसामा फ्रिट डिजाइन गरेका छौँ र यसलाई हेर्दा वर्ड पजल जस्तो देखिन्छ। सिसामा ३० वटा विभिन्न भाषामा ३० वटा विभिन्न स्थानीय प्रजातिका चराचुरुङ्गीको नाम प्रिन्ट गरिएको छ। यसले चराहरूको सुरक्षालाई ध्यानमा राखेर बनाइएको डिजाइनलाई अझ रमाइलो र उपयोगी बनाउँछ र यो “इस्टर एग” जस्तै देखिन्छ।

यहाँ पाइने चराका विभिन्न ३० स्थानीय प्रजातिहरूको नाम ३० भाषामा लेखिएको बर्ड फ्रिट।

यहाँ पाइने चराका विभिन्न ३० स्थानीय प्रजातिहरूको नाम ३० भाषामा लेखिएको बर्ड फ्रिट। फोटो: Google का लागि Iwan Baan ले खिच्नुभएको।

त्यस्तै ग्रेडिएन्ट क्यानोपीको लाइटिङको डिजाइन गर्दा हामीले खास गरी चरा ठोक्किने सम्भावना कसरी कम गर्ने भन्ने कुरामा ध्यान दिएका छौँ। रातिको समयमा चर्को बत्ती बाल्दा चराहरू झुक्किन सक्छन् र उनीहरूको स्थानीय वासस्थानमा अवरोध पुग्न सक्छ। यसले गर्दा रातिको समयमा बसाइँसराइ गर्ने चराहरूलाई झन् धेरै असर पर्छ। हामीले ग्रेडिएन्ट क्यानोपीको भवन वा वरपरका बोटबिरुवामा अपलाइटिङ प्रयोग नगरेर र भवनमा बालिएको बत्तीको प्रकाश चराहरूको वासस्थानसम्म पुग्न नदिनका निम्ति छेकबारको व्यवस्था गरेर प्रकाश प्रदूषण कम गरेका छौँ। हामीले राति बन्द गरिने विन्डो ब्लाइन्डहरू पनि जडान गरेका छौँ। त्यस्तै कुनै ठाउँमा मानिस भएका बेला मात्र उक्त ठाउँको बत्ती बलोस् भनेर हामीले भवनभित्रका सबै बत्तीमा रातिको समयमा मानिसको उपस्थिति पत्ता लगाउने सेन्सर पनि लगाएका छौँ।

हामीले ग्रेडिएन्ट क्यानोपीमा प्रयोग गरेको चरामैत्री डिजाइनले राम्रोसँग काम गरोस् र आवश्यक परेका खण्डमा यसमा परिमार्जन गर्न सकियोस् भन्नाका लागि हामीले हाम्रा संरचना तथा भवनमा चरा ठोक्किएको कुरा ट्रयाक गर्न तीन वर्षे निगरानी योजना पनि लागू गरेका छौँ। यसका लागि हामीले नियमित रूपमा भवन परिसरमा हिँडेर अवलोकन गर्ने व्यवस्था मिलाएका छौँ। चराचुरुङ्गीलाई सुरक्षित हुने खालको डिजाइन प्रयोग गर्नाले हाम्रा भवनहरू वरपरको वातावरणसँग अझ राम्रोसँग एकाकार हुन्छन् र यसले गर्दा वन्यजन्तु र मानिसहरू अझ स्वस्थ तरिकाले सहअस्तित्वमा रहन सक्छन् भन्ने हामीले आशा गरेका छौँ।